शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

लकडाउनमा नेपाल दर्शन–४३

च्र्योदोङ

१६-जेठ-२०७७ | १२:००:५५ pm

दोलखाको पवित्र भूमि–च्र्योदोङ । हिन्दूका भगवान शिव र बौद्धमार्गीका गुरु पद्मसंभवको तपोभूमि । च्र्योदोङ(३,६९० मिटर)मा च्र्योदोङेश्वर (महेश्वर)को मन्दिर छ । त्यहाँ बौद्धमार्गीले पवित्र मन्त्र लेखेका ध्वजापताका चढाएका छन् ।

जिरी नगरपालिकाको वडा नं १, २, ५ र ४ को शिरमा पर्छ च्र्योदोङ । त्यहाँ हरपल लुङदार र बौद्ध झण्डा फर्फराईरहन्छन् । मौसम उघारिँदा पश्चिमदेखि पूर्वसम्मका हिमाल सर्लक्कै खुल्छन् ।

नुम्बुर, रामदुङ, छेकिगो, धारे मेलुङत्से, लाक्पादोर्जे, टासी लाप्चा, गौरीशंकर, चिनियाँ हिमाल, आमा बामरे, गणेश र गोर्खा हिमालको लस्कर देखिन्छ । गौरीशंकर हिमाल त आँखैमा टाँसिन्छ ।

डाँडामा बतासले नाक, कान, मुखलाई चिसो बनाउँछ । डाँडामा मन्दिर छ । खुल्ला आकाशमुनि देवता । तीनतिर करिब ४ फिट ढुँगा उठाएको मन्दिर । छानो छैन । भित्र एउटा शिला । साथमा हजारौं त्रिशुल । मनोकांक्षा पुरा हुने विश्वासमा भक्तजन त्रिशुल चढाउँछन् ।

हिन्दू र बौद्धमार्गीको साझा तीर्थ–च्र्योदोङ । आ–आफ्ना हिसाबले पुज्छन् उनीहरू । हिन्दूको अबिर, ध्वजा र बौद्धमार्गीको रंगीन झण्डा तथा खादाले ढपक्कै ढाकिन्छन् महादेव । बौद्धमार्गीको उड्ने लामाको कथा जोडिएको छ यहाँ ।

च्योर्दोङेश्वर दर्शन गरेमा रोग व्याध नलाग्ने, वन्यजन्तुले चौपायलाई दुःख नदिने जनविश्वास छ । वर्षका दुई पटक यहाँ मेला लाग्छ ।

डाँडाको थाप्लोमा चढेर दर्शन गरेपछि तल पेमादिङ चौरमा चण्डी पूर्णिमा (साउन–भदौ) र रोम्बाले पूर्णिमा (कात्तिक) मा मेला लाग्छ । पेमादिङबाट आधा घन्टा उकालिँदा मन्दिरमा पुगिन्छ ।

डाँडामा खाने तथा बास बस्ने सुविधा छैन । कुनै पाटी वा धर्मशाला छैन । क्याम्पिङ गर्ने ठाउँ भने छ । अहिलेका लागि जिरीका होटलमा बसेर बिहानै उकालो लागेर साँझ जिरी बजारमै फर्कनुको विकल्प छैन ।

जिरीबाट च्र्योदोङ जोड्न खनिएको सडकमा क्याङसीसम्म रिर्जभ्ड जिपमा जान सकिन्छ । त्यहाँ भन्दा मास्तिर हिँडेर जान तीन घन्टा लाग्छ । जिरीबाटै हिँडेर माथि पुग्ने हो भने ६ घन्टा ।

यसरी पदयात्रा गर्नुको मज्जा बेग्लै हुन्छ । पटाँसेदेखि नै नुम्बुर हिमाल लुकामारी खेल्न थाल्छ ।

पटाँसे मुन्तिर शेर्पा बस्ती यलुङ छ । पछिल्लो समय यलुङ किवि खेतीका लागि प्रख्यात छ । पटाँसेमा चिनियाँको सहयोगमा गुरु पद्यसंभवको विशाल मूर्ति बनाउने तयारी हुँदैछ ।

यात्रामा क्याङसी पोखरी परिक्रमा गरेर धुपधुँवार गरेपछि च्र्योदोङ चढ्नु राम्रो मानिन्छ । त्यहाँबाट गोब्रे सल्ला र गुराँसको जंगल छिचोल्दै चढ्नु पर्छ ।

डाँडाबाट दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुँगा, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रे देखिन्छ । यति सुन्दर ठाउँले पर्यटक लोभ्याउन सक्छ ।

पर्यटकलाई हनुमन्ते, नागी डाँडा हुँदै च्र्योदोङ घुमाएर जिरी वा यलुङ झार्न सकिन्छ । तीन राते पदयात्रा प्याकेज बन्न सक्छ ।

पहिलो रात ठूलो नागी, दोस्रो च्र्योदोङ र तेस्रो यलुङ वा जिरीमा बिताउने गरी ।

अर्को कुरा, जिरी बजारलाई केन्द्रमा राखेर वरपरका हनुमन्ते, जिरेश्वर, हलेश्वर र च्र्योदोङेश्वर जोडेर जिरी नगरपालिकाले प्रचारमा जोड दिनुपर्छ ।

जिरी बजारका तन्नेरी लिलाराम खड्काले दोलखाको पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान गर्दै आएका छन् । उनको संस्था ‘पर्यटन प्रवद्र्धन मञ्च नेपाल’ले, ‘जाऔं है दोलखा’ अभियान चलाउने तयारीमा छ । कोरोनालाई जितेपछि अभियानले गति लिने आशा गरौं । त्यसपछि च्र्योदोङ जस्ता गन्तव्य चम्कनेछन् ।

‘जाऔं है दोलखा’ अभियानका संयोजक लिलाराम खड्का

सुझाब-यात्रामा निस्कँदा जिरी बजारमा कम्तिमा दुई रात बस्ने गरी योजना बनाउनु पर्छ । यात्रामा निस्कनु अघि ‘जाऔं है दोलखा’ अभियानका संयोजक लिलाराम खड्कालाई ९८४९३०३९२० मा सम्पर्क गरेमा आबश्यक जानकारी लिन सजिलो हुन्छ है !

कसरी पुग्ने-काठमाडौं–जिरी १८८ किमि । काठमाडौंको पुरानो बसपार्कबाट छुट्छन् बस । बसले ७ घन्टामा जिरी पु¥याउँछन् । जिरीबाट ६ घन्टा पदयात्रामा च्र्योदोङ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: