शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
प्रदेश

काठमाडौलाई धुलो मुक्त शहर बनाउने महानगर प्रमुख शाक्यको अभियानमा उपप्रमुख हरिप्रभा खड्गीको अवरोध

२०-आश्विन-२०७६ | ०५:३९:२६ pm

काठमाडौं,बर्णन संवाददाता । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्र गर्ने कार्यमा अनावश्यक अवरोध गरिएकामा गहिरो दुःख व्यक्त गरेका छन्।

उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको भने जनगुनासो आएको साथैै आफ्नो काठमाडौँलाई धुलोमुक्त बनाउने अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताए।

काठमाडौ निर्वाचन क्षेत्र नं ६ बाट निर्वाचित प्रतिनिधि सभा सांसद भीमसेनदास प्रधान,काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गी समेतको नेतृृत्वमा खुलामञ्च पुगेका समूहको उपस्थितिमा आइतबार त्यहाँको निर्माण सम्वन्धी काममा अवरोध गर्ने काम भएको थियो। दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने कालो पत्र सहितको ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पुर्‍याइएको छ।

“हामीले त्यहाँ स्थायी संरचना बनाउन खोजेका होइनौँ, हामी अहिले होइन पहिलादेखि नै त्यो अस्थायी बसपार्क हो भनिरहेका छौँ”, डेङ्गुको आशङ्कामा त्रिपुरेस्वर स्थित अस्पतालमा उपचाररत प्रमुख शाक्यले भने, “मैले उपप्रमुखसँग सल्लाह गरेर नै त्यहाँ अस्थायी रुपमा कालोपत्रको प्रक्रिया अघि बढाउन भनेको हुँ। तर त्यहाँ विषयवस्तुलाई अनावश्यक रुपमा उचालेर राजनीति गर्ने काम भएको खबर सुन्दा दुःख लागेको छ ।”

आसन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्र लगायतको कामले तीव्रता पाएसँगै खुलामञ्चको बसपार्कमा पनि कालोपत्र गर्न लागिएको हो।

शाक्यले धुलोमुक्त काठमाडौँ अभियानमा आफू निरन्तर लागिरहेको भन्दै महानगरको फोहर र धुलोमा राजनीति गर्ने गरेका कारण समस्या भएको बताए। “हामीले महानगरभित्रका सडक जति नै सफा र चिल्ला बनायौँ भने पनि बसपार्कबाट निस्कने धुलो र हिलोका कारण ती सडकको अवस्था उस्तै हुन्छ”, उनले भने, “हामीले त्यही भएर अस्थायी रुपमा त्यहाँ कालोपत्र गर्नु भनेका हौँ। तर, माननीयज्युहरुले विषयवस्तुलाई अन्तै लगेर त्यहाँ अवरोध गर्नुभएछ। त्यो राम्रो होइन ।”

उनले अहिले महानगरपालिकाकै पहलमा तीनकुनेमा पनि आइल्यान्ड बनाउने काम भइरहेको भन्दै अन्य ठाउँको पनि सजावटको काम अघि बढेको बताए। “तीनकुनेमा पनि हामीले अस्थायी रुपमै आइल्यान्ड बनाएका हौँ”, उनले भने, “विदेशी पाहुना आउँदा मात्र होइन हामीले दैनिक ओहोर–दोहोर गर्दा पनि त्यहाँ हिलो र धुलोको सामना गर्नुपर्ने हुन्थ्यो। कम्तीमा पनि त्यहाँ आइल्यान्ड बनेपछि हेर्न लायकको हरियाली बन्नेछ। फेरि विदेशी पाहुना आउँदै पिच्छे कहिले टिनका जस्ता त कहिले फ्लेक्सले छोप्नुपर्ने बाध्यता पनि हटेको छ ।”

सो विषयमा महानगरका उपप्रमुख खड्गीले कालोपत्रे मात्रै गर्ने भनिए पनि रड नै राखेर ढलान गरिएकाले स्थानीय जनता विरोधमा उत्रिएपछि आइतवार बिहान आफू त्यहाँ पुगेको र असन्तोष देखिएकाले तत्कालका लागि ढलान रोक्न भनिएको बताइन्। ‘हामीलाई पनि यो विषयमा जानकारी थिएन, कुराकानीका क्रममा मेयर ज्यूले कालोपत्रे गर्न लागिएको छ भनेर जानकारी दिनुभएको थियो, हेर्न जाँदा ढलान नै गरेको देखिएपछि स्थानीयले अवरोध गरेका हुन्’, खड्गीले भनिन्।

महानगरपालिका–२८ का अध्यक्ष भाइराम खड्गीले आफ्नै वडामा हुन लागेको कामको विषयमा आफूलाई नै जानकारी नभएको बताउँदै स्थायीरूपमै सिमेन्ट ढलान गर्न लागिएको पाइएकाले अवरोध भएको बताए।

काठमाडौँ महानगरपालिका पहिलादेखि नै काठमाडौँ महानगरभित्रका खाल्टाखुल्टी पुर्ने, धुलो हटाउनेलगायतका अभियानमा निरन्तर लागिरहेको थियो। चिनियाँ राष्ट्रपति चिनफिङ नेपाल आउने र नेपाल भ्रमण वर्ष २०२० लाई समेतलाई ध्यानमा राख्दै अ्रन्य विभिन्न निकायले समेत चासो देखाएपछि काठमाडौँका सडक थप चिल्ला र खाल्टाखुल्टी मुक्त हुदै सुधारिन थालेका हुन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: