बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
प्रदेश

जातीय विभेदकाे पराकाष्ठा

१७-जेठ-२०७७ | ११:३६:३१ am

लक्ष्मी  पुडासैनी-ए छाेरी लुगा सिउने दाइलाई दुध हालेकाे चिया न दे है भनी फलैचामा बस्नुभएकी हजुरआमा कराउनुहुन्थ्याे ।

किन र हजुरआमा भन्ने प्रश्नमा उहाँले गाई थाक्छ यिनीहरूलाई दुध दिँदा भन्ने प्रश्नले म सधैं बाल्यकालभरी घाेत्लिरहन्थे ।

घरका लुगा सिउने कान्छा दाइकी छाेरी शारदा मेरी साह्रै हितेषी थिई । मेराे मात्र हाेइन मेरा परिवारकै लुगा सिउन ऊ खुसी हुन्थी र कल बाेकेर घर आउथी दिनभर लुगा सिलाउँथी ।

हामी भित्र बसेर कुहिनासम्म चुहिने गरी दुध, दहि , माेही खान्थ्याैं । उसलाई पिढींमा राखेर भात खान दिइन्थ्याे जुन मलाई कदापी मन पर्दैनथ्याे ।

दुध, दहि, माेही त दिनै हुन्न गाई बस्तुले दुध दिदैन भन्ने कुरा बारम्बार कानमा पर्थे ।

शारदा आफूले खाएकाे थाल बाहिर घाममै घाेप्ट्याउथी र सुकेपछि मात्रै भित्र लान्थ्याैं ।

दिउँस सबै खाजा खाएपछि हामी सबै दुधकाे चिया खान्थ्याैं तर मेरी साथी शारदालाई म दुध चिया दिन सक्दिनथी । हजुरआमाका डरले ।

मलाई हजुरआमाकाे कुरा पत्यार लाग्दैनथ्याे । एक दिन हजुरआमा नभएकाे बेला मैले उसलाई कसैले नदेख्ने गरी दुधकाे चिया दिए ।

गाई थाक्छ कि थाक्दैन भनी आमाले गाईकाे दुध दिने समयसम्म कुरी रहें तर गाईले जति दुध दिने हाे उति दुध दिएपछि मलाई थाहा भयाे कि यी सब रूढिवादी कुरा रहेछन् ।

शारदाका लुगा सिउन लैजादा पुराना लुगा उसकाे घरमा रातभर रह्ये भने नधाेइकन घरभित्र लैजान पाइदैनथ्याे ।

उनीहरूले छाेएका लुगा, भाडा चाेख्याएर घरभित्र लैजाने रूढिवादी मानसिकतामा हुर्किएकी मैले आफू पढ्दै जाँदा यी सबै जातीय विभेद रहेछ भनी थाहा पाइ आफ्ना आफन्तसंग लडाई गर्दै आएँ ।

शारदा र मेराे घर नजिकै थियाे । हामी खेल्न पनि संगै जान्थ्याैं तर मेरा घरका परिवारलाई याे कुरा स्वीकार्य थिएन । लुगा फाेहाेर हुँदा, हातखुट्टा, कपाल फाेहाेर हुँदा मेराे लुगा सफा गर्दै हजुरआमाले शारदालाई गाली गर्नुहुन्थ्याे । म अचम्म पर्थें ।

शारदा विद्यालय जादैनथी । म विद्यालयबाट फर्किनासाथ ऊ मसंग खेल्न र कुरा गर्न आउथी र सधैं मेरा घरका मानिसका गाली खान्थी र न्याउराे अनुहार लगाएर जान्थी ।

ठूली हुँदै जाँदा शारदा खुब राम्री हुदै गई र लुगा पनि सिउन जान्ने भई।गाँउका सबै लाेग्ने मान्छे शारदामाथि गिद्धे नजर लगाउथे ।शारदा थाहा नपाए झै गर्थी ।

ऊ मेरा घरमा लुगा सिउन आउन खुब मन गर्थी । मेरा मात्र हैन मेरा घर परिवार सबैका लुगा ऊ रमाएर सिउथी ।म चिया खाजा खाँदा म शारदासँगै बसेर खान जान्थे, त्याे कुरा सधैं मेरा घरका सदस्यले घाेचिरहन्थे ।

म पानी लिन जाने धाराे र शारदा पानी लिन जाने धाराे एउटै थियाे । पानीकाे मुहान एउटै पाइप फरक । शारदालाई छाेएर पानी ल्याउछु भनेर हजुरआमाले मलाई कहिल्यै पानी लिन पठाउनु भएन । मलाई याे जातिय विभेद कत्तिपनि मन पर्दैनथ्याे ।

सधैं यहि निउमा घरमा झगडा हुन्थ्याे । मैले बाल्यकाल भरी आफ्ना घर परिवारका मानिसकाे गाली खाइरहन्थे दलितका पक्षमा कहिल्यै कुरा उठाउन नपाइकन मेराे बाल्यकाल बित्याे । मेराे मुख सधैं बन्द गरिन्थ्याे । परिवारका डरले मैले कहिल्यै शारदासंग खुल्न पाइन ।

उमेर बढ्दै जाँदा मेराे ठूलाे बुबाकाे छाेराले शारदालाई असाध्यै मन पराउँथ्याे र उसले शारदालाई याे कुरा भनीदिन मलाई साह्रै अनुराेध गरेपछि मैले शारदालाई याे कुरा भनिदिएँ शारदा खुब डराई प्रर्तिकार गरी तर दाजुले खुब हिम्मत दियाे उनीहरूकाे प्रेम टुसाउँदै मात्रै हैन झागिदै गएकाे कुरा गाउँमा गाइगुइ हल्ला भएपछि मेरी ठूलीआमाले शारदालाई घरमै गएर भुत्लाउनुभयाे ।

मलाई पनि अपशब्द प्रयाेग गरि गाली गर्नुभयाे ।जातीय विभेद कुरामा ठूलाे झगडा भयाे । शारदाका बुबाले पनि शारदालाई गाली मात्र हैन रगताम्मे हुने गरी पिटनुभयाे ,तर मेराे दाजुले खासै गाली खाएन उस्का कुरा लुकाउन खाेजियाे उसले हिम्मत गरेर बाेल्न सकेन ।

याे घटनाबाट शारदाले शारिरीक र मानसिक यातना सहि र मैले मानसिक ,उस्काे बुबाले गाउँमा गरी खान दे भनी शारदाकी आमा र शारदालाई भाेलिपल्ट् खाेई कता पठाउनु भयाे ।एक हप्तापछि शारदाकी आमा घर आउनुभयाे ।निक्कैपछि मैले एकान्तमा शारदाकीआमाबाट थाहा पाएँ शारदाकाे त सिन्धुपाल्चाेक तिरकाे केटा खाेजी विवाह गरिदिनुभएछ ।

याे घटना भएकाे पनि निकै शताब्दी बितिसक्दा पनि समाजमा जातियताका नाममा रौँ बराबरी पनि परिर्वतन भएकाे छैन ।नेपाली जनताले तन्त्रका नाममा प्रजातन्त्र ,लाेकतन्त्र र गणतन्त्र ल्याउनेजति सबै ल्याईसके फाल्नेजति सबै फालीसके तैपनि जातिय विभेद जहाँकाे त्यहि छ भन्ने दृष्टान्त जाजरकाेट भेरी ४ रानागाउँका २० वर्षीया नवराज विककाे दुःखद घटनाबाट प्रष्टै हुन्छ ।

मुलुकी ऐन मार्फत जातीय छुवाछुत अन्त्य घाेषणा गरिएकाे आधा शताब्दी नाघिसक्दा र जातिय विभेदलाई दण्डनीय बनाउँदा पनि दलित माथिकाे विभेद राेकिएकाे छैन भन्ने कुराकाे सप्रमाण रूकुमकाे चाैरजहारीमा शनिवार राति जे भयाे त्याे एक्काइसाैं शताब्दीमा पनि नेपाली कुन स्तरमा हिडिरहेकाे छ भन्ने कुरा प्रष्टै हुन्छ ।

कथित जातिय उचनीचका नाममा प्रेम विछाेड गराउन त्यहाँ मच्चाइएकाे रक्तपात नेपाली समाजकाे जिउँदाे वास्तविकता हाे । याे दृश्य हेर्ने सुन्ने हामी सबै जिउँदा लास हाैं ।

जाजरकाेट भेरी ४ रानागाउँका २० वर्षीया नवराज विककाे दलित भएकै कारण आफ्नाे प्रेमका नाममा जुन ज्यादती सहनु पर्याे मात्र हैन बुटवलमा रातकाे समयमा केटासँग हिंडेकाे कारण सामूहिक दुर्व्यवहार भाेग्नुपरेर १५ वर्षिया दलित किशाेरीले आत्महत्या गरिन् ।

दुई साता अघि पाल्पामा दलितसँग बिहे गरेकै कारण एक पुरूषलाई आमाकाे शवसम्म छुन दिइएन । बारीमा छाप्राे बनाएर किरिया गरे, |

काभ्रेका अजित मिजारले पनि गैरदलित युवतीसंग प्रेम गरेकै कारण हत्या गरियाे ।दलित युवायुवतीका प्रेम प्रसंगबाट कयाै ज्यान गुमाउन बाध्य छन् यसका कुनै लेखा जाेखा छैन |

यी त प्रतिनिधि पात्र मात्रै हुन् । अन्तरजातीय विवाहकै कारण बर्सेनि कयाैं मानिसका निर्मम हत्या र आत्महत्या गर्न बाध्य बनाउने याे प्रथाकाे जराे गहिराे छ भन्ने कुराका साक्षी यी घटनाहरू प्रशस्तै छन ।

त्यसैले शताब्दी शताब्दी देखि जराे गाडेर बसेकाे विभेद अन्त्य हुन समाज परिवर्तन गर्न हिँढेकाहरूले काँधमा याे जिम्म्वारी लिनुपर्छ ।

आफ्ना आाफ्ना चुनावी मैदानमा खटिनुपर्छ ।जबसम्म दलितहरू मान्छे गनिदैनन् तबसम्म समाजबाट यस्ता विभेदपूर्ण क्रियाकलाप भइरहन्छ ।

व्यक्ति समाज प्रदेश हुँदै राष्ट्रव्यापी रूपमा उत्रिनु पर्छ । संविधानका पानामा काला अक्षरमा लेखिएका ऐन नियमका धारालाई व्यवहारमा उतार्नु पर्छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: